मेरो देश : मेरो सर्वस्व
मेरो देशमा हिउँले सेतै फुलेका हिमालयहरू
छन्, वनको हरियो पछ्यौरा ओढेका पहाड़परीहरू छन् र अन्नको पहेँलो धोती
फेरेका तपस्वीजस्तो तराई पनि छ। प्रकृतिको वरदानझैँ लाग्ने मेरो देश मेरो
हृदयको टुक्का हो; मेरो देश नेपाल मेरो जन्मभूमि हो, कर्मभूमि हो र
पुण्यभूमि पनि हो । मेरो देश नेपालको झरनाको चिसो पानी, हिमाली हार्दिकताले
छोएको सुस्वादु हावा र नित्यनिरन्तर गतिशीलताको पाठ पढाउँदै अग्रगतिमा
लम्किरहेका नदीहरूसँग मेरो अमिट साइनो गाँसिएको छ। म मेरो देशलाई हृदयमा
सँगाल्छु, म मातृभूमिको माटो मुटुमा सजाउँछु र यस धर्तीमाताको सुन्दर आकृति
मनको सिहासनमा आसीन गराउँछु। मेरो देशको माटो, मेरो देशका जनता र मेरो
देशको सम्पूर्ण सम्पदा नै मेरो सर्वस्व हो ।
मेरो प्यारो देश नै
मेरो मुटुको ढुकढुकी हो अनि मेरो नेपालको इज्जत, प्रतिष्ठा र सौन्दर्य नै
मेरो सर्वस्व हो। मेरो देशमा पूर्वको मानेभन्ज्याङलाई घाउ लाग्दा खप्तडको
शिर दुख्छ, टनकपुरलाई चोट लाग्दा जनकपुरको पाउमा टन्टन्ती पीडा हुन्छ। मेरो
प्यारो देशको अस्मितामाथि कसैले आँखा लगाउन खोज्दा म रिसले चूर हुन्छ अनि
आक्रोश र विद्रोहको ज्वाला भएर सडकमा दन्कन्छु। मेरो देशका चेलीहरूलाई
विदेशका गल्ली-गल्लीहरूमा विचल्लीमा पार्ने नराधमहरूका विरुद्ध म खड्ग लिएर
खड्गबहादुर कथाका नायक जुघ्न चाहन्छु, म नेपाल र नेपालीहरूको सेवालाई नै
भगवान्को पूजा ठान्दछु र आफ्नो सबैभन्दा महान् धर्म मान्दछु । देशको इज्जत
दाउमा राख्ने र राष्ट्रको प्रतिष्ठा धरौटीमा राख्ने कुलागारहरूले मेरी
नेपाल आमाको अस्मिता लुट्न खोजेको देख्ता बेला-बेला मेरो छाती चर्चरी
चिरिन्छ, मेरो हृदय भत्भती पोल्दछ र मेरा आँखाबाट धर्धरी आँसु बग्दछन्।
कसैले आफ्नो देशको इज्जत र प्रतिष्ठा दाउमा राखिदिँदा मेरो सर्वस्व लुटिन
खोजेकै हुन्छ।
मेरो देश भन्नु यहाँको माटो मात्र होइन; यहाँका जनता,
संस्कृति र प्रकृति पनि हुन्। प्रकृतिका र संस्कृतिका धनी हामी नेपालीहरू
आर्थिक रूपले गरिब छौं। यही विपन्नताको लाभ उठाएर सम्पन्नताको लोभ देखाउँदै
हामीमा विदेशी संस्कृति र सभ्यताप्रतिको मोह जगाउन खोजिएको छ। मेरो देशको
शरीरमा विदेशी सभ्यता संस्कृतिको प्रत्यारोपण गर्ने कुचाल र महाजालमित्र
पस्न सहरले रहर गरिरहेका छन् र गाउँ पनि सुरिइरहेका छन्। मेरो देशको
शरीरमित्र विदेशी संस्कृतिको प्रेतात्मा प्रवेश गर्न खोज्दै छ। यसरी मेरो
देशको मौलिकता र आफ्नोपन हराउन थाल्दा म आफै हराउन थाले भएको छु। मलाई
यहाँका जनताका सुख र दुःखका साथी हुँदै यहाँको संस्कृतिभित्र लुकेको
गरिमामय पक्षलाई उजागर गर्नु छ। मेरो देशको अस्तित्व जोगाई मेरो छाती
गौरवबोधले फुलोस्, मेरो शिर अभिमानले उन्नत बनोस् र म राष्ट्रको सेवामा
समर्पित होऊ अनि मेरो देशका लागि मैले मेरो सर्वस्व सुम्पन्न सकूँ भन्ने
पुनीत चाहना मेरो लक्ष्य हो ।
देशको शिर हिमाल हो, शरीर पहाड हो, र
सिङ्गो आधार भनेकै मधेश वा तराई हो । यसरी हिमाल, पहाड र मधेश नै मेरो
सर्वस्व हो । म जसरी शिर विनाको मान्छेको कल्पना गर्न सक्तिन, शरीरविनाको
जिउको विचार गर्न सक्तिन, त्यसरी नै टेक्ने उभिने र बाँच्ने आधारविनाको
मानवको चिन्तन नै गर्न चाहन्न। त्यसरी नै म हिमाललाई छुट्याउने, पहाडलाई
बोल्याउने, तराईलाई टुक्र्याउने र नेपाल आमाको जिउलाई भागवन्डा गर्ने
कामबाट नयाँ नेपालको साकार हुने कुरा सोच्न पनि सक्तिन । मेरो नेपाललाई
नयाँ बनाउने नाममा म यसको अखण्डताविरुद्ध सम्झौता गर्दिन, यसको अविभाज्यता
विरुद्ध सहिछाप गर्दिन, किनकि मेरो देश रहे मात्र म रहन्छु किनकि मेरो देश
नै मेरो सर्वस्व हो ।
मेरो देश नेपालभित्र नेपाली भएर बाँच्नु नै
मेरो जीवनको लक्ष्य, अर्थ र सर्वस्व हुनेछ । आज एउटा नेपाली भएर आफ्नो
परिचय गुमाउनुलाई गौरव सम्झने प्रवृत्ति बढ्दो छ। रूपियाँ र पैसाका लागि
आफ्नो मुलुकलाई चटक्क बिर्सने मात्र होइन, बेला बेला यसलाई सराप्न पछि
नपर्ने हाम्रा दाजुभाइ र दिदीबहिनीहरूको स्वभाव छ। मेरो देशभित्र लुकेको
यस्तो महामारीले सिङ्गो मुलुकलाई खग्रास पारेको छ, गाउँहरू युवाविहीन भएका
छन्, शून्य हुँदै छन् अनि सहरलाई मानिस नपचेर झुसिलो डकार आउन थालेको छ।
मुलुकभित्र विसङ्गतिका लहराहरू म्याङ्गिदै छन् र ती तत्त्वको उपचार र
काँटछाँट गरी मेरो देशको मौलिक पहिचान कायम गर्नु नै मेरो देशप्रति मेरो
जीवनको कर्तव्य र लक्ष्य हुनेछ; किनभने मेरो सर्वस्व भन्नु नै मेरो देश हो।
0 Comments