मेरो देश
हिमालको सेतो फेटा, पहाडको हरियो मोटो र शश्यश्यामला
तराईको पहेलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो। सिन्धुमा
हराएको विन्दुजस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो हृदयको
धड्कन हो मेरो देश सगरमाथालाई माथमा लिएर हाँसेको छ अनि पर्वतस्तनबाट
नित्य-निरन्तर बगिरहेका दूधका सहस्र धारा पिएर बाँचेको छ। पूर्वमा मेची र
पश्चिममा कालीको साँध कोरेर उत्तरतर्फ हिमशृङ्खलाको प्राकृतिक पर्खाल लगाई
स्वयम् प्रकृति नै मेरो देशको रक्षामा खटिएकी छिन्। यस देशको
चारकिल्लाभित्र प्रकृतिदेवी रमाउँदै छमछम नाचेकी छिन् । सूर्यका सुनौला र
सुकोमल किरणहरू जब हिमाललाई स्पर्श गर्छन् अनि मेरो देशमा उज्यालो पोखिन्छ;
सूर्यका किरणहरू हिमालयबाट बिदा भएपछि पुन: यहाँ अँध्यारो पोतिन्छ।
रहस्यको सरोवर मेरो देश अनेकतामित्र एकता भएको देश हो । सामन्ती
राजतन्त्रलाई चमत्कारिक रूपबाट विदाइ गर्दै लोकतान्त्रिक युगमा यात्रा
गर्दै रहेको देश हो मेरो देश । यो हेर्दा मलाई लाग्छ कहीं विश्वभरिकै
प्राकृतिक सौन्दर्यलाई जम्मा पारेर विधाताले यसै मुलुकमा खन्याएका त होइनन्
?
चारजात छत्तीस वर्णको फूलबारीका रूपमा रहेको मेरो देशमित्र अनेक
जातजातिरूपी पुष्पहरू पुष्पित र पल्लवित छन् । शेर्पाको नाच, गुरुङको रोदी,
लिम्बूको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग-अलग संस्कृति र जातिको
झझल्को दिन्छन् तर यहाँ ती प्रत्येक जातजातिरूपी रङ्गीबिरङ्गी फूलहरूका
बीचबाट, भिन्न भिन्न संस्कृतिहरूका माझबाट एउटा कोलाज सौन्दर्यज्योतिको
प्रस्फुटन भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ। यहाँ बुद्धका भक्तहरू
पशुपति दर्शनको प्यासले छट्पटाउँछन्; पशुपतिनाथका श्रद्धालुहरू बौद्ध
गुम्बाको दर्शनार्थ अधीर हुन्छन्। यस पतितपावन भूमिभित्र पशुपतिनाथ र
स्वयम्भूले रत्नपार्कको मस्जिदसँग डाहा गर्दैनन् गिर्जाघरको पादरीका
विरुद्ध मोर्चा कस्दैनन्। यसरी धार्मिक सहिष्णुताको मूल फुटेको देश हो मेरो
देश । साम्प्रदायिक एकता, मेलमिलाप र सद्भावका लागि जुटेको देश हो मेरो
देश। साम्प्रदायिकता, जातीयता, धर्म, भाषा एवम् क्षेत्रीयताको दुर्भावनाले
तनावग्रस्त विश्वलाई जातीय एकता, धार्मिक सद्भाव एवम् सहिष्णुताको पाठ
पढाउन सक्नु मेरो देशको अद्वितीय विशेषता रहेको छ।
मेरो देश
सौन्दर्यको खानी हो। यहाँ प्रकृतिको रङ्गीविरङ्गी फूलबुट्टा भएको हरियो
च्यादर ओढेर पहाड सिंगारिएको छ, हिउँको स्वच्छ-सेतो मलमलको टोपी पहिरेर
हिमाल मुस्काएको छ, पहेलपुर धोती फेरेर तराई अन्नमा अनुवाद भएको छ। यहाँ
कलकल बग्ने खोला र छङछङ गर्न करनाको आवाजमा चराचुरुङ्गीको चिर्बिर स्वरको
मिश्रणले तुमुल ध्वनि निस्कन्छ अनि त्यसबाट अवर्णनीय र अकल्पनीय आनन्दको
वर्षा हुन्छ: भावनाका ज्वारहरू सल्बलाउँछन्। मान्छे जब प्रकृतिको यस्तो
रमणीय विश्वविद्यालयमा विचरण गर्न थाल्दछ; उसलाई कोइलीले वेदनाको गीत
सिकाउँछ भने ढुकुरजोडीले मीठो प्रीत पढाउँछन्। यहाँ 'सङ्घे शक्ति कलौ युगे'
भन्ने चेतना कमिलाको ताँतीले दिन्छ। यहाँ खोलाले कविता सिकाउँछ भने झरनाले
गीत। त्यसैले त रम्घाका पाखामा भानु उदाउँछन्; गोसाईकुण्डको यात्रामा
देवकोटा गुन्गुनाउँछन्ः दमौलीको गुफामा वेदव्यास पलेटी कस्छन्ः अघौं
अर्चलेले लेखनाथ जन्माउँछ; औंसीको कालो रातमा पनि मोसीको टोलमा मोती
चम्कन्छन्। प्रकृतिको पुष्पोपहारले सिंगारिएका, पहाडको स्वच्छ हावा र चीसो
पानीले राता-राता गाला भएका पहाड़ी नानीहरू जब मुस्कुराउँछन् अनि त
मोनालिसाको सौन्दर्य पानी-पानी बन्दछ । यहाँका बाँसुरी र सारङ्गीबाट
निस्केको सुरिलो स्वर सुनेर गिटार र ड्रम्स जिल्लिन्छन्। जून र घाम
पालैपालो पीडेको देखेर माछापुच्छ्रे र अन्नपूर्णा एकैचाटि फेवातालमा
हाम्फाल्छन्। यसरी आकाशसँग मीत लाउन चुलिएका हिमशृङ्खलाहरू र समुद्रसंग
प्रीत लगाउन हतारिएका नदीहरूले धर्ती र आकाशसँग मेरो देशको साइनो
गाँसिदिएका छन् र मेरो देशको स्वर्णिम सौन्दर्यमा सुगन्ध थपिदिएका छन्।
मेरो
देश कलापूर्ण बुट्टा र मन्दिरहरूले सिंगारिएको छ । प्रकृतिबाटै सौन्दर्यको
शिक्षा पाएका हाम्रा पुर्खालि नेपाली कलालाई समुन्नत अवस्थामा पुयाएका छन्
। बलबाहुको कलात्मक सुवास अजेय हिमाली किल्ला छिचोल्दै जब चीन पुग्छ मेरो
देशको कला विश्वविख्यात बन्छ। त्यसैले ऐतिहासिक चिनियाँ यात्री हुयान साड्
मेरो देशको प्रशंसा गरेर थाक्दैनन्। यहाँका कृष्णमन्दिर, न्यातपोल र
वसन्तपुरका दरबारहरूले मेरो देशको कलात्मक सौरमको साक्षी बक्छन्। यस देशका
मन्दिरभित्रका देवताबाट मैले आध्यात्मिक खुराक पाएको छ भने मन्दिरबाहिरका
कलात्मक बुट्टाबाट मेरो देशले आर्थिक खुराक पाएको छ। यस्तै प्राचीन
कलापूर्ण मन्दिर र दरबारहरू हेर्न आएका पर्यटकहरुबाट हुने आम्दानीले मेरो
देशको घरवार चलेको छ। यहाँ दुई कोटि जनताको सुरक्षार्थ तेत्तीस कोटि देवता
पहरा बसेका छन्। यहाँका पाटीपौवा र टुँडालहरूका कलाले मानवमनभित्रसम्म पसेर
अन्तस्करणको काउकुती र तिर्खा मेटिदिन्छन्ः कलात्मक जादुको दृष्टान्त पेस
गर्छन्। यसरी कलाको अनुपम उदाहरराण मेरो देशले विश्वसमक्ष प्रस्तुत गरेको
छ।
मेरो देश वीर र वीराङ्गनाहरू जन्माउने देश हो। चीसो पानी पिएर
वीरताको आगो ओकल्ने नेपालीहरूको बहादुरीले सात समुद्र छिचोलेको छ। सुन्याई र
वीरताका निम्ति नेपालीहरूले विश्वमै नाम कमाएका छन्। मेरो देशको
राष्ट्रियताका लागि र जातीय स्वाभिमानका लागि लड्ने वीर पुर्खाहरूको आलो
रगतले मेरो देशको अङ्ग प्रत्यङ्ग भिजेको छ। अमरसिंहको कथा अनि बलभद्रको र
भीमसेन थापाको गाथाभित्र नेपाली वीरता चम्केको छ। राष्ट्रको गरिमा
दूरक्षितिजमा फैलाउने सीता र भृकुटी तथा अबला मनी होच्याइने नारी जातिको
साहसलाई सबल पारी उच्च आकाशमा पुऱ्याउने पासाङ् ल्हामु नेपाली
वीराङ्गनाहरूका प्रतीक हुन्। मेरो देशको माटाले यस्तै वीरहरू र
वीराङ्गनाहरू जन्माएको छ र तिनलाई प्रकृतिले हुर्काएको छ। मेरो देशको
माटाले हामीलाई गर्नेदेखि बहादुर योद्धा बनाएको छ र परिवेशले हामीलाई
सङ्घर्षशील बनाएको छ। नेपाली भूमिमा विदेशी साम्राज्यले खुट्टो घुमाउन
नसकेको ऐतिहासिक दृष्टान्तले नेपालीहरूका वीरता, शूरता, बहादुरी र
क्रान्तिकारितालाई सङ्केत गर्दछ । मेरो देश राजतन्त्रको गहुँगो भारी विसाएर
लोकतान्त्रिक गणतन्त्रको चौतारीमा पुगेको छ। २३७ वर्षसम्म राजतन्त्रको
भारी बोक्दा बोक्दै खुइलिएको तालु लिएर मेरो देश अब आफ्नो उर्वरतातर्फ
यात्रारत छ। हिजो भोजन विनाको पेट लिएर राजारजौटाको भजनमा रमाउन विवश मेरो
देश अब पूर्ण लोकतन्त्रात्मक युगतर्फ यात्रारत छ । सङ्क्रमणकालका
कांडेतारलाई पन्छाउन सक्यो भने परिवर्तन पचाउन नसक्नेहरूका चुनौतीहरूलाई
चिर्न सक्यो भने, अध्यारोपछि उज्यालो आएकै मुलुक सङ्घीय लोकतान्त्रिक
गणतन्त्रको नवयुगलाई आत्मसात गर्न सक्षम हुनेछ ।
मेरो देशको इतिहास
शुक्ल पक्षको जूनजस्तो छ । तर आज त्यस जूनमा थोरै ग्रहण लागेको छ ।
प्रकृतिले सर्वस्व दिएर काखमा हुर्काएको मेरो देशको सन्तान पुर्खाका
पदचिह्नमा हिँड्न सकेको छैन । पुर्खाको पौरख पस्केर खाँदा खाँदै रित्तिएको
थोत्रो मांडो थापेर दातृराष्ट्रसमक्ष आज हामीले मिक्षा माग्नुपरेको छ। मेरो
देशको शिष्ट सभ्यता-संस्कृति पाश्चात्य छाडा सभ्यता र संस्कृतिबाट किचिएको
छ । खोटो सिक्काले खाँटी सिक्कालाई यहाँ विस्थापित गरेको छ। यहाँ छिमेकबाट
साम्प्रदायिक झगडा, द्वेष र दुर्भावनाका कीटाणुहरू पस्न खोज्दै छन्।
यहाँको प्रकृतिका हरिया डाँडा पाखाहरू निर्वस्त्र र नाङ्गा बन्दैछन् र
हिमालयसमेत फोहर र प्रदूषणबाट बलात्कृत भएको छ। यहाँका मठ-मन्दिर र
देवस्थलहरूले डम्पिङसाइटको झल्को दिन थालेका छन्। जलस्रोतले सम्पन्न यस
देशले टुकीयुगमै थन्किनुपरेको छ र राजधानीका रित्ता गाग्रीहरू पानी नआउने
धारामा लाम बसेका छन्। यहाँ सत्तादौडको खेलबाहेक अन्य खेल रुचिहीन बनेका
छन्। यस देशको राजधानीमा कलकल बग्ने वाग्मती र विष्णुमती नदी ढल भएका छन् ।
वीरहरूको सन्तान भन्ने पुर्खाको सम्पत्ति पनि अब नबिक्ने स्थिति देखा
परेको छ र मेरो देशको वर्तमानले भोग्नुपरेका यस्ता समसामयिक विसङ्गति र
पीडाले मेरो हृदय दुखेको छ ।
आदिम ऋषिमुनिहरूको तपोभूमि, प्रकृतिको
क्रीडाभूमि, वीरयोद्धाहरूक जन्मभूमि, सांस्कृतिक, धार्मिक र साम्प्रदायिक
विविधताका बीच अटुट एकताक अविरल प्रवाह प्रवाहमान भएको मेरो देश मेरो
आंखाको नानी हो; कला, सभ्यता सौहार्दता र सद्भावनाको खानी हो। मलाई मेरो
देशमा छिर्न खोज्ने विसङ्गतिहरूलाई चिर्दै अगि बढ्न मन लाग्छ, विसङ्गतिहरू र
विकृतिहरूसँग लड्न मन लाग्छ, नेपालला भौतिक सम्पन्नताको चुचुरामा पुऱ्याउन
मन लाग्छ, सगरमाथामा चढेर 'द्यौःशान्ति पृथ्वी शान्ति'को वैदिक मन्त्र
उच्चारण गरेर विश्वभर शान्तिसन्देश फिंजाउन मन लाग्छ।
0 Comments