निबन्ध: समयको महत्त्व | Essay On Importance Of Time In Nepali

 समयको महत्त्व


समय निरन्तर बहिरहने अमूर्त गति हो। यो द्रुतगामी छ। समय अतीतबाट वर्तमान हुँदै भविष्यतिर प्रवाहमान भइरहेको छ। यसले मौका वा अवसरलाई बुझाउँछ। समय सेकेन्ड, मिनेट, घन्टा, दिन, रात, वर्ष हुँदै कुँदिरहेको छ। यो अनन्तदेखि अनन्ततातिर अखण्ड रूपमा अविभाज्य छ। यही अनन्तताभित्रको बिन्दुमा प्राणीहरू अस्तित्ववान् हुन्छन् र विलीन हुन्छन् ।

समय अति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। समयको महत्त्व भन्नाले समयको सदुपयोग र जीवनलाई समयको गतिसँग हिँडाउन सक्नु हो । जसले समयको मूल्य र महत्त्वलाई बुझ्न सक्छ त्यही मानिस नै अस्तित्ववान् हुन्छ। उसले नै सुन्दर भविष्यको निर्माण गर्न सक्छ र आफ्नो जीवनलाई सार्थक तुल्याउन सक्छ। अन्यथा समयको अँगालोमा अस्तित्वविहीन बन्न पुग्दछ। समय गतिवान् हुन्छ। भनिन्छ, समय आउँछ पर्खन्न, खोला बग्छ फर्कन्न। हुन पनि हो, यसलाई न रोक्न न फर्काउन नै सकिन्छ। तिनीहरूले मात्र समयको गतिलाई पक्रन सक्छन्, जसले समयको गतिमा आफूलाई हिँडाउन सक्छन्।

समय निकै महत्त्वपूर्ण हुन्छ। समयको महत्त्व बुझ्नेले उत्कृष्ट कलाको सृजना गर्न सक्छ, वैज्ञानिक आविष्कार गर्न सक्छ, देश र जनताको लागि जीवन समर्पण गरेर युगायुगसम्म बाँच्न सक्छ। पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको समयलाई बुझे र राष्ट्रनिर्माता बने, भानुभक्तले नेपाली भाषाको उत्थानको समयलाई बुझे र भानु बनी उदाए, मोतीराम मोती बनी चम्के, देवकोटा महाकवि बनी चम्किला किरण बर्साए तर समयको महत्त्व नबुझ्ने धर्तीको भार भई समयको चक्रभित्र निलिन पुग्दछ।

समय अति बलवान् हुन्छ। यो प्राचीनताबाट आधुनिकतातिर लम्किरहेको हुन्छ। पुरानो पुस्ताले नयाँ पुस्ताको समयलाई बुझ्न सक्नुपर्छ। व्यक्ति, समाज र राष्ट्रले नै समयको गतिलाई पक्रन सक्नुपर्छ। हामीलाई भैरव अर्यालले भने मैं भोलिवादी प्रवृत्तिले गाँजेको छ। आज हुने कामलाई भोलि भोलि भनी पर साछौं। राजाको काम कहिले जाला घाम भन्ने प्रवृत्ति उच्च ओहोदामा बसेकाहरूको छ अनि कसरी देश र देशवासीको उन्नति र प्रगति हुन्छ ! आज अमेरिका, जापान, चीन आदि राष्ट्रहरूले समयको गतिलाई पछ्याए र विकासका शिखरतिर बढिरहेका छन्, तर हामी नेपालीहरूले समयको गतिलाई पछ्याउन सकेनौँ र पछि परिरहेका छौं । त्यसैले हामी अहिलेको २१ औं शताब्दीमा पनि ३०० वर्ष पछि छौँ र १७ औं शताब्दीतिर घस्रिरहेका छौं । यो नै हाम्रो दुर्भाग्य हो। जबसम्म देशमा समयको गतिलाई च्याप्प समात्न सक्ने चेतना आउँदैन तबसम्म हामी र हाम्रो देश उँभो लाग्ने छैन। यस क्षेत्रमा समय क्रान्तिको खाँचो छ। माध्यमिक नेपाली व्याकरण र अभिव्यक्ति | ३९७ समयको एक क्षण पनि निकै महत्त्वपूर्ण हुन्छ। एक क्षणको ढिलासुस्ती र लापर्बाहीले यात्रीको यात्रा छुट्न सक्छ, रोगीको ज्यान जान सक्छ, परीक्षार्थीको जाँच छुट्न सक्छ, परिश्रमीको मौका गुम्न सक्छ, कृषकको खेत बाँझो रहन सक्छ, उद्यमीको सारा काम चौपट हुन सक्छ र लाखौँलाख धनमालको क्षति हुन सक्छ।

समय परिवर्तनशील छ। यो जीवन र प्रकतिको प्रवाहमय परिवर्तित गति हो। समयको महत्त्वलाई बुझ्न सकिएन भने हरेक उपलब्धिहरू फुत्किने छन् । बुद्धिमान् मानिसहरू भूतबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा उभिएका हुन्छन् । रात रहे अग्राख पलाउँछ भन्नेहरूले नै समयको महत्त्वलाई बुझेर नै सफलताको शिखरमा चढ्न सफल भएका हुन् । समयको महत्त्वलाई बुझेर अगाडि बढ्नु नै बुद्धिमानी हो। त्यसैले समयप्रतिको सचेतता नै सफलताको भयङ हो, जीवनको सार हो र कर्तव्यको पथ हो । समयको महत्त्वलाई बुझ्नु भनेको यथार्थवादी एवम् वस्तुवादी बन्नु हो र समयको सदुपयोग गर्नु हो।

Post a Comment

0 Comments